विशिष्ट पदाधिकारीका लागि घर भाडामा लिने तयारी, प्रस्ताव आह्वान

विशिष्ट पदाधिकारीका लागि घर भाडामा लिने तयारी, प्रस्ताव आह्वान

काठमाडौं । सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले विशिष्ट सरकारी पदाधिकारीहरूका लागि घर भाडामा लिने प्रक्रिया अघि बढाएको छ।

कार्यालयले मंगलबार सूचना जारी गर्दै मन्त्री, न्यायाधीश लगायतका विशिष्ट पदाधिकारीहरूको आवासका लागि सामूहिक घर भाडामा लिन लागिएको जनाएको हो। इच्छुक व्यक्ति वा कम्पनीलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रस्ताव पेश गर्न आह्वान गरिएको छ।

गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भैँसेपाटी स्थित मन्त्री निवाससहितका सरकारी आवासमा आगजनी भएपछि धेरै विशिष्ट पदाधिकारीहरू बसोबास समस्यामा परेका छन्। त्यसैलाई मध्यनजर गर्दै अस्थायी रूपमा आवास व्यवस्थापन गर्न यो प्रक्रिया अघि बढाइएको जनाइएको छ।

कार्यालयले प्रस्तावका आधारमा उपयुक्त आवास छनोट गरी पदाधिकारीहरूको बसोबास सहज बनाउने तयारी गरेको छ।