एप्पलका सीईओ टिम कुकले पद छोड्ने, जोन टर्नस नयाँ नेतृत्वमा

एप्पलका सीईओ टिम कुकले पद छोड्ने, जोन टर्नस नयाँ नेतृत्वमा

काठमाडौं । Apple Inc. का सीईओ टिम कुकले पद त्याग्ने निर्णय गरेका छन्। ६५ वर्षीय कुकले आगामी सेप्टेम्बर १ देखि आफ्नो जिम्मेवारी जोन टर्नस लाई हस्तान्तरण गर्नेछन्।

कुकले औपचारिक रूपमा सीईओ पद छोडेपछि पनि कम्पनीमा एक्जीक्युटिभ चेयरम्यान (कार्यकारी अध्यक्ष) का रूपमा रहने जनाइएको छ। टर्नस भने एप्पलको नयाँ सीईओका रूपमा नेतृत्व सम्हाल्नेछन्। उनी विगत २५ वर्षदेखि एप्पलसँग आबद्ध रहँदै आएका छन् र हाल हार्डवेयर इन्जिनियरिङ प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्।

सन् २०११ देखि एप्पलको नेतृत्व गर्दै आएका कुकले स्टीव जब्स पछि कम्पनी सम्हालेका थिए। त्यतिबेला स्वास्थ्य समस्याका कारण जब्सले पद त्यागेका थिए।

कुकको कार्यकालमा एप्पलले उल्लेखनीय व्यावसायिक सफलता हासिल गर्दै विश्वकै अग्रणी प्रविधि कम्पनीको रूपमा आफ्नो स्थान मजबुत बनाएको मानिन्छ। अब टर्नसको नेतृत्वमा एप्पलले नयाँ चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ