नेप्सेमा नयाँ नियम: सेयर मूल्य अब एकैदिन १५ प्रतिशतसम्म घटबढ हुने

नेप्सेमा नयाँ नियम: सेयर मूल्य अब एकैदिन १५ प्रतिशतसम्म घटबढ हुने

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले सेयर बजारको कारोबार व्यवस्थामा महत्वपूर्ण परिवर्तन गर्दै अब एकैदिन सेयर मूल्य अधिकतम १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्ने व्यवस्था लागू गर्ने भएको छ। संशोधित नियम आगामी सोमबारदेखि कार्यान्वयनमा आउनेछ।

यसअघि सेयर मूल्यमा दैनिक १० प्रतिशतको सीमित उतारचढावको व्यवस्था थियो। नेप्से सञ्चालक समितिले कारोबार सञ्चालन विनियमावली, २०८२ मा चौथो संशोधन गर्दै उक्त सीमा ५ प्रतिशत बिन्दुले बढाएर १५ प्रतिशत पुर्‍याएको हो।

नयाँ व्यवस्थाअनुसार कारोबार समयअघि वा पछि टीएमएसमार्फत राखिएका अर्डरहरू समय प्राथमिकताका आधारमा क्रमबद्ध गरिनेछन् र बजार खुलेसँगै प्रणालीमा प्रविष्ट हुनेछन्। अर्डर राख्दा अघिल्लो कारोबार दिनको अन्तिम मूल्यको १५ प्रतिशतभन्दा बढी वा कम हुन नपाउने प्रावधान राखिएको छ।

प्रारम्भिक कारोबार सत्र (१०:३०–१०:४५) मा भने अर्डरहरू अघिल्लो दिनको अन्तिम मूल्यको ५ प्रतिशतको सीमाभित्र राख्नुपर्नेछ। ती अर्डरहरू नियमित सत्रमा समावेश गरिनेछन्। नियमित सत्रमा भने मूल्य ३ प्रतिशतको सीमाभित्र मात्र अर्डर प्रविष्ट गर्न पाइनेछ, जुन यसअघि २ प्रतिशत थियो।

यससँगै सर्किट ब्रेकको व्यवस्थामा पनि परिवर्तन गरिएको छ। अब कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले बढे वा घटेमा पहिलो सर्किट ब्रेक लाग्नेछ र १५ मिनेटका लागि कारोबार रोकिनेछ। त्यसपछि पुनः खुल्दा परिसूचक ८ प्रतिशतले तलमाथि भएमा सो दिनका लागि कारोबार पूर्ण रूपमा बन्द हुनेछ।

यसअघि तीन तहको सर्किट ब्रेक (४%, ५% र ६%) को व्यवस्था रहेकामा अब दुई तहमा सीमित गरिएको छ। नयाँ व्यवस्थाले बजारमा तरलता र उतारचढाव दुवै बढ्ने अपेक्षा गरिएको छ।