नेकपाको प्रदेश कमिटी सदस्य चयनका लागि कार्यदल गठन

नेकपाको प्रदेश कमिटी सदस्य चयनका लागि कार्यदल गठन

काठमाडौं, ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश कमिटीका सदस्य चयन र केन्द्रीय सदस्यको जिम्मेवारी तोक्नका लागि कार्यदल गठन गरेको छ । नेकपाको आज बसेको सचिवालय बैठकले दुई सदस्यीय कार्यदल गठन गरेको हो ।

सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको उक्त कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरु चयन गर्ने र त्यसलाई सचिवालय बैठकमा पेश गर्ने बताइएको छ । कार्यदलले केन्द्रीय सदस्यहरुको कार्यविभाजनको जिम्मेवारी समेत पाएको छ । प्रदेश कमिटीका सदस्यहरु निश्चित मापदण्डका आधारमा चयन गर्ने र त्यसलाई सचिवालय बैठकले टुंगो लगाउने गरी आफूहरुलाई जिम्मेवारी दिइएको हो ।