

काठमाडौं । इजरायल र लेबनानबीच झन्डै एक महिना लामो द्वन्द्वपछि १० दिने युद्धविराम भएको छ। युद्धविराम लागू भएसँगै प्रभावित क्षेत्रका नागरिकहरूले केही राहतको अनुभूति गर्न थालेका छन्।
युद्धका कारण विस्थापित भएका हजारौँ नागरिकहरू क्रमशः घर फर्किन थालेका छन्। दक्षिणी लेबनानका विभिन्न स्थानमा मानिसहरू फर्किँदै गर्दा कतिपय स्थानमा उत्साहसमेत देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी पहलमा भएको यो अस्थायी सहमति प्रारम्भिक रूपमा १० दिनका लागि लागू गरिएको हो। आवश्यक परे यसको अवधि थप गर्न सकिने बताइएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई शान्तिको अवसरका रूपमा व्याख्या गरेका छन् भने लेबनानका राष्ट्रपति जोसेफ खलील औनले पनि सकारात्मक कदम भएको बताएका छन्।
हिजबुल्लाहले युद्धविराम स्वीकार गर्ने संकेत गरे पनि देशभर आक्रमण पूर्ण रूपमा रोकिनुपर्ने र इजरायली सेना दक्षिणी लेबनानबाट पूर्ण रूपमा फिर्ता हुनुपर्ने सर्त अघि सारेको छ।
तर इजरायलले दक्षिणी लेबनानको करिब १० किलोमिटर क्षेत्रलाई ‘सुरक्षा क्षेत्र’का रूपमा कायम राख्ने संकेत दिएको छ, जसले भविष्यमा पुनः तनाव बढ्ने सम्भावना कायमै रहेको विश्लेषण गरिएको छ।
विश्लेषकहरूले यो युद्धविराम अस्थायी र नाजुक हुन सक्ने बताउँदै दीर्घकालीन शान्तिका लागि क्षेत्रीय शक्ति राष्ट्रहरूबीचको व्यापक सहमति आवश्यक रहेको उल्लेख गरेका छन्।