

काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय तथा व्यवसाय सञ्चालन गर्दै भाडा नतिर्ने संस्थामाथि कारबाही सुरु गरेको छ।
परिषद्ले लामो समयदेखि भाडा बक्यौता नतिरेका विभिन्न संस्थाका संरचनामा ताला लगाएको जनाएको छ। बारम्बार सूचना जारी गर्दा पनि अटेर गरेपछि यस्तो कदम चालिएको परिषद्को भनाइ छ।
परिषद्का सदस्यसचिव सरोज कुमार शर्माका अनुसार रिपोटर्स क्लब, काठमाडौं पुस्तकालय, फोटो पत्रकार महासंघ, अपाङ्ग महासंघ लगायत करिब २० वटा संरचनामा ताला लगाइएको छ। परिषद्का अनुसार हाल १० करोड रुपैयाँभन्दा बढी भाडा उठ्न बाँकी रहेको छ। ताला लगाइएका संस्थालाई सात दिनभित्र बक्यौता बुझाउन निर्देशन दिइएको छ।
सदस्यसचिव शर्माले भृकुटीमण्डप क्षेत्रभित्रका संरचनालाई व्यवस्थित गर्ने योजना समेत अघि बढाइएको जानकारी दिए।
सीता बादीको निर्देशनमा परिषद्ले बक्यौता असुलीका लागि कडा कदम चालेको जनाइएको छ।