

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
कार्यालयका अनुसार बालेन्द्र शाह (बालेन) सहित मन्त्रिपरिषद्का सदस्यहरूको व्यक्तिगत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो। सार्वजनिक विवरणमा उनीहरूको घरजग्गा, बैंक मौज्दात, सवारी साधन तथा अन्य लगानीसम्बन्धी जानकारी समेटिएको छ।
सरकारले पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यासलाई निरन्तरता दिएको जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहसँग नगद मात्र एक करोड ४६ लाख रुपैयाँ रहेको छ। आइतबार सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार नगद मात्रै एक करोड ४६ लाख रुपैयाँ रहेको देखिएको हो।
फेसबुक, युट्युव, टिकटक लगायतबाट बालेन्द्रले आम्दानी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ।
यस्तै, प्रधानमन्त्री पत्नी सविना काफ्लेसँग १९० तोला सुन, चाँदी र हिराका गहना रहेको प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उल्लेख छ। उक्त गहनाको स्रोत उनले पैत्रिक सम्पत्ति भनेका छन्।
काठमाडौँ महानगरपालिका ९ मा ध्रुवदेवी शाहको नामा ५ आना र धनुषामा १.२ बिघा जग्गा र महोत्तरीमा रामनारायण शाहको नाममा ९ विघा जग्गा रहेको पनि प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उल्लेख छ।
हाल सार्वजनिक गरिएको विवरणमा कसको कति सम्पत्ति छ भन्ने विस्तृत विवरण सम्बन्धित निकायको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ।