अमेरिकासँग शान्ति वार्ताका लागि इरानी टोली इस्लामाबादमा, युद्धविरामका सर्त अघि सार्दै

अमेरिकासँग शान्ति वार्ताका लागि इरानी टोली इस्लामाबादमा, युद्धविरामका सर्त अघि सार्दै

काठमाडौं । इरान र अमेरिका बीच प्रस्तावित शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल इस्लामाबाद पुगेको छ।

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार उक्त प्रतिनिधिमण्डललाई इसाक दारले नुर खान विमानस्थलमा स्वागत गरेका थिए। स्वागत कार्यक्रममा सरदार अयाज सादिक, सैयद असिम मुनिर र मोहसिन रजा नक्वी समेत सहभागी थिए।

इरानी टोलीको नेतृत्व मोहम्मद बागेर गालिबाफ ले गरेका छन्। टोलीमा विदेशमन्त्री अब्बास अराघची, रक्षा परिषद् सचिव अली अकबर अहमदियान, केन्द्रीय बैंकका गभर्नर अब्दुलनासेर हेम्मती लगायत सहभागी छन्।

उता अमेरिकी वार्ता टोलीको नेतृत्व जेडी भान्स ले गर्ने जनाइएको छ।

वार्ताअघि गालिबाफले लेबनन मा युद्धविराम लागू गर्न र इरानको फ्रिज गरिएको सम्पत्ति फिर्ता गर्नुपर्ने सर्त अघि सारेका छन्। उनका अनुसार यी विषय पहिले नै सहमति भइसके पनि कार्यान्वयन हुन सकेको छैन।

यसअघि दुई देशबीच दुई साताको युद्धविराम सहमति भए पनि इजरायल ले लेबननमा हवाई आक्रमण जारी राखेपछि सम्झौताको दायरा र प्रभावकारिताबारे विवाद उत्पन्न भएको छ।

लेबननको राष्ट्रपति कार्यालयका अनुसार दक्षिणी सहर नाबाटियाहमा भएको पछिल्लो आक्रमणमा १३ सरकारी सुरक्षाकर्मी मारिएका छन्। यसअघि बुधबारको आक्रमणमा २ सयभन्दा बढीको मृत्यु र हजारभन्दा बढी घाइते भएको जनाइएको छ।