

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको भावना अनुसार गठन भएको सरकारले जनकल्याणकारी कानुन निर्माण र त्यसको परिणाममुखी कार्यान्वयन गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले निर्माण भएका कानुनको मर्म र भावना अनुरूप प्रभावकारी कार्यान्वयन सुनिश्चित गरिने विश्वास व्यक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले पटक–पटक भएका जनआन्दोलन, संघर्ष तथा पछिल्लो समय युवा पुस्ताले देखाएको आन्दोलनबाट प्रकट जनभावना जनकल्याणकारी शासनतर्फ उन्मुख रहेको उल्लेख गरे। उनले नागरिक केन्द्रित कानुन निर्माणमा संसद्ले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
त्यस्तै, न्यायपालिकाबाट छिटो, छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सके मात्र शहीदहरूप्रति साँचो अर्थमा सम्मान हुने उनले बताए।