

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा निगमलाई ठूलो घाटा भइरहेको भन्दै नयाँ मूल्य समायोजन गरिएको जनाएको छ।
नयाँ दरअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ। अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ।
निगमका अनुसार भन्सार महसुल र पूर्वाधार विकास कर समायोजनपछि पनि पाक्षिक रूपमा १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ घाटा हुने अवस्था रहेको छ। हाल पेट्रोलमा प्रतिलिटर १६.६५ रुपैयाँ, डिजेलमा १०९.५० रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर ४१६.३७ रुपैयाँ घाटा रहेको जनाइएको छ।
निगमले पूर्ण लागतअनुसार मूल्य नबढाई सीमित वृद्धि गरिएको उल्लेख गर्दै एलपी ग्यासमा प्रति सिलिण्डर १०० रुपैयाँ र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको जनाएको छ। यससँगै १४.२ केजी ग्यासको मूल्य २०१० रुपैयाँ पुगेको छ।
मूल्य वृद्धि पश्चात् पनि निगमलाई अझै करिब ७ अर्ब ८१ करोड रुपैयाँ पाक्षिक घाटा हुने अनुमान गरिएको छ। निरन्तर घाटा बढ्दै गएमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने भन्दै निगमले उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह गरेको छ।