

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् विश्वकप लिग-२ अन्तर्गत नेपालले खेल्ने दुई वटा त्रिकोणात्मक शृंखलाको खेल तालिका सार्वजनिक भएको छ। तालिकाअनुसार नेपाल राष्ट्रिय क्रिकेट टोली ले पहिलो शृंखला घरेलु मैदानमा यूएई क्रिकेट टोली र ओमान क्रिकेट टोली सँग खेल्नेछ। यो शृंखला अप्रिल २५ देखि मे ५ सम्म सञ्चालन हुनेछ।
शृंखलाको पहिलो खेलमा नेपालले अप्रिल २५ मा यूएईसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि अप्रिल २९ मा ओमानसँग, मे १ मा पुनः यूएईसँग र मे ५ मा ओमानसँग खेल्ने तालिका रहेको छ। यसअघि मध्यपूर्व क्षेत्रमा उत्पन्न तनावका कारण उक्त शृंखला स्थगित गरिएको थियो। सबै खेल त्रिवि क्रिकेट मैदान मा आयोजना हुनेछन्।
यूएई र ओमानविरुद्धको शृंखलापछि नेपालले दोस्रो शृंखलामा स्कटल्यान्ड क्रिकेट टोली र अमेरिका क्रिकेट टोली सँग प्रतिस्पर्धा गर्नेछ। अमेरिका र स्कटल्यान्ड सम्मिलित शृंखला मे १२ देखि २२ सम्म सञ्चालन हुनेछ।
यस शृंखलाको पहिलो खेल मे १२ मा स्कटल्यान्डसँग हुनेछ। त्यसपछि मे १६ मा अमेरिकासँग, मे १८ मा पुनः स्कटल्यान्डसँग र अन्तिम खेल मे २२ मा अमेरिकासँग खेल्ने तालिका तय गरिएको छ। यो शृंखलाका सबै खेल पनि त्रिवि क्रिकेट मैदानमै हुनेछन्।
लिग–२ को अंकतालिका अनुसार नेपालले हालसम्म २० खेल खेल्दै ५ जित र १३ हारसहित १२ अंक जोडेको छ र सातौँ स्थानमा रहेको छ। १४ खेल खेलेको अमेरिका ३६ अंकसहित शीर्ष स्थानमा रहँदा २६ खेल खेलेको स्कटल्यान्ड ३२ अंकसहित दोस्रो स्थानमा छ। त्यस्तै, २२ खेलबाट २७ अंक जोडेको ओमान चौथो स्थानमा रहँदा २० खेलबाट १० अंक बटुलेको यूएई तालिकाको पुछारमा रहेको छ।
