

काठमाडौं । इन्डोनेसियाको मोलुका सागर क्षेत्रमा आज बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि इन्डोनेसियासहित छिमेकी देशहरूमा सुनामीको जोखिम बढेको भन्दै सतर्कता अपनाइएको छ।
अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार बिहान ६:४८ बजे गएको भूकम्पको केन्द्रविन्दु टेर्नेट शहरबाट करिब १२० किलोमिटर टाढा मोलुका सागरमा रहेको थियो। प्रारम्भिक रूपमा ७.८ म्याग्निच्युड आँकलन गरिए पनि पछि त्यसलाई संशोधन गरी ७.४ कायम गरिएको हो।
भूकम्प लगत्तै अधिकारीहरूले सुनामीको सम्भावना औंल्याउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। हवाईस्थित सुनामी चेतावनी केन्द्रले केन्द्रविन्दुबाट करिब १,००० किलोमिटरभित्र पर्ने फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रमा समुद्री छाल आउन सक्ने चेतावनी दिएको छ।
उता, भूकम्पका कारण भवनको भग्नावशेषले पुरिँदा एक जनाको मृत्यु भएको स्थानीय उद्धार टोलीले जनाएको छ। मृतक उत्तर सुलावेसीको मिनाहासा क्षेत्रकी ७० वर्षीया महिला हुन्।
भूकम्पपछि मनाडो शहरमा एक भवनमा ठूलो क्षति पुगेको भिडियो सार्वजनिक भएको छ। भवनभित्रका सामग्री बाहिर छरिएका र केही संरचना बाङ्गिएको देखिएको छ। उद्धारकर्मीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेका छन्।