सभामुख चयन प्रक्रिया सुरु, रास्वपाबाट डीपी अर्याल लगभग तय

सभामुख चयन प्रक्रिया सुरु, रास्वपाबाट डीपी अर्याल लगभग तय

काठमाडौँ । संसद् बैठक प्रारम्भ भएसँगै सभामुख चयन प्रक्रिया अगाडि बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभामुखका लागि उपसभापति डोलप्रसाद (डीपी) अर्यालको नाम लगभग टुंगो लागिसकेको बताइएको छ ।

रास्वपाका एक पदाधिकारीका अनुसार राजनीतिक सुझबुझ, समन्वयकारी भूमिका र संवैधानिक प्रक्रिया बुझ्ने क्षमताका कारण अर्याल नै उपयुक्त उम्मेदवार रहेको निष्कर्षमा पार्टी पुगेको हो ।

सभामुख निर्वाचन यही चैत २२ गते हुने तय भएको छ । सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकले निर्वाचन प्रक्रिया अघि बढाएको हो । सभामुख पदका लागि मनोनयन दर्ता चैत २० गतेका लागि तोकिएको छ ।

उपसभामुख कुन दललाई दिने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन । संविधानअनुसार संसद् बैठक सुरु भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने व्यवस्था छ । साथै, यी दुवै पद फरक लिङ्ग र फरक दलबाट हुनुपर्ने संवैधानिक प्रावधान छ ।

उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खुश्बु ओलीको नाम सामाजिक सञ्जालमा चर्चामा आएको छ । तर अघिल्लो कार्यकालमा सहकार्य गरेको र एजेण्डागत रूपमा नजिक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई उपसभामुख दिनुपर्ने पक्षमा रास्वपाका केही नेताहरू सकारात्मक देखिएका छन् ।

नेकपालाई उपसभामुख दिएमा संविधान संशोधनजस्ता विषयमा समन्वय गर्न सहज हुने उनीहरूको बुझाइ छ ।

यदि यस्तो सहमति बनेमा नेकपाबाट बलावती शर्मा उपसभामुखको प्रमुख दाबेदारका रूपमा अघि सारिने सम्भावना छ । अर्याल सभामुखमा प्रस्तावित भएसँगै उपसभामुख पदमा महिला उम्मेदवार आवश्यक पर्ने भएकाले नेकपाका महिला सांसदहरू—भीमकुमारी बुढा, पार्वती विक, निराशा चौधरी र शर्मामध्ये शर्मालाई बढी उपयुक्त मानिएको छ ।