

वासिङ्टन डीसी । डोनाल्ड ट्रम्पले इरानमा जारी अमेरिकी सैन्य अभियान चाँडै समाप्त हुने र आगामी दुईदेखि तीन हप्ताभित्रै अमेरिकी सेना फिर्ता हुने घोषणा गरेका छन्।
ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले इरानमाथि गरिएका हवाई आक्रमण तथा सैन्य कारबाहीले आफ्नो उद्देश्य पूरा गरिसकेको दाबी गरे।
गत महिना इजरायल सँगको समन्वयमा सुरु गरिएको उक्त अभियानको मुख्य लक्ष्य इरानको आणविक हतियार क्षमतालाई ध्वस्त पार्नु रहेको र त्यो लक्ष्य हासिल भइसकेको ट्रम्पको भनाइ छ। उनका अनुसार अहिले अमेरिकी सेनाले अन्तिम चरणका काम सम्पन्न गरिरहेको छ।
ट्रम्पले इरानको आकाशमा पूर्ण रूपमा अमेरिकी नियन्त्रण रहेको र इरानी सैन्य संरचना कमजोर पारिएको दाबी गरे। साथै, वरिष्ठ राजनीतिक तथा सैन्य नेतृत्वमा आएको परिवर्तनले नयाँ नेतृत्व पहिलेभन्दा कम कट्टर र बढी व्यवहारिक भएको उनको दाबी छ।
उनले इरानले वार्ताका लागि आग्रह गरिरहेको उल्लेख गर्दै औपचारिक सम्झौता भए पनि नभए पनि तोकिएको समयमै अमेरिकी सेना फिर्ता हुने स्पष्ट पारे। इरानले पुनः आणविक हतियार विकास नगर्ने सुनिश्चित भएपछि मात्रै पूर्ण रूपमा बाहिरिने उनले बताए।
इरानले अमेरिकी प्रविधि कम्पनीहरूलाई दिएको धम्कीबारे टिप्पणी गर्दै ट्रम्पले त्यसलाई महत्वहीन बताउँदै व्यङ्ग्य गरेका छन्।
युद्धका कारण बढ्दो इन्धन मूल्यबारे उनले सैन्य अभियान समाप्त भएपछि तेलको मूल्य घट्ने दाबी गरे। अमेरिकाले युद्धमा पूर्ण सफलता हासिल गरिसकेको र अब इरानमा बसिरहनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ।
यद्यपि, इरानले भने यसअघि यस्ता दाबीहरू अस्वीकार गर्दै आएको छ।