

काठमाडौं । पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको संस्थापन समूहले समानुपातिक सांसद छनोटमा नियमविपरीत काम गरेको आरोप लगाएका छन्।
धुम्बाराहीस्थित होटल स्मार्टमा आफ्ना समूहका नेताहरूको भेलालाई सम्बोधन गर्दै खड्काले विशेष महाधिवेशनबाट आएको नेतृत्वले प्रक्रियाविपरीत निर्णय गरेको बताएका हुन्।
उनका अनुसार पिछडिएको क्षेत्रको सूचीमा पहिलो नम्बरमा रहेकी विद्या तिमिल्सिनाको नाम हटाएर सो क्लस्टरमा नाम नै नभएका खस–आर्य कोटाका सातौँ नम्बरका कालीबहादुर सहकारी लाई समानुपातिक सांसद बनाइएको छ। “हाम्रा उम्मेदवारहरू अदालत गइसकेका छन्,” खड्काले बैठकमा बताएका छन्।
त्यस्तै, दलित कोटाका मानबहादुर नेपाली ले पनि पक्षपात भएको भन्दै अदालतमा मुद्दा दायर गरिसकेको जानकारी उनले दिएका छन्।
पार्टीका तत्कालीन महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा समूहले गत माघ १ गते विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसभित्रको विवाद झन् चर्किएको छ। अहिले उक्त समूहविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूह एकढिक्का देखिएका छन्।
दुवै समूहबीच निरन्तर छलफल चलिरहँदा पार्टीका केन्द्रीय प्रवक्ता देवराज चालिसे ले छुट्टै भेला गरिरहेको पक्षलाई पार्टी अनुशासनको स्मरण गराउँदै चेतावनी दिएका छन्।