काठमाडौं, ६ कार्तिक । साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गर्नुभएको हो । प्रधानमन्त्री ओलीले आफ्नै मुलुकमा उत्पादन भएको जलविद्युतले वातावरण र जनस्वास्थ्यलाई सकारात्मक असर गर्ने बताउनुभयो ।
विद्युतीय बसले ऊर्जाको किफायत गर्नेमा उहाँको जोड छ । हाम्रो देशमा आफ्नो पेट्रोलियम पदार्थ नहुँदा विद्युतीय बस सञ्चालनमा जोड दिन खाँचो रहेको उहाँले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणले २० ठाउँमा चार्जिङ स्टेशन स्थापना गर्ने पनि उहाँले जानकारी दिनुभयो । सरकार सार्वजनिक यातायातको स्तर र गुणवृद्धि गर्नमा प्रतिवद्ध भएको भन्दै उहाँले विद्युतीय बसको प्रयोगबाट सार्वजनिक यातायातलाई सुरक्षित र गुणस्तरीय बनाउँदै जानेमा जोड दिनुभयो । पहिले ग्यास घरघरमा भनेकामा अब विद्युतीय चुल्हो घरघरमा लैजाने सरकारको योजना रहेको उहाँको भनाइ छ । सरकारले २०२० सम्म कम्तिमा २० प्रतिशत सवारी साधन विद्युतीय बनाउने लक्ष्य लिएको उहाँले बताउनुभयो । आधारभूत रुपमा लोडसेडिङ अन्त्य भएको र केही वर्षमै जलविद्युतमा स्वनिर्भर हुने भन्दै उहाँले पेट्रोलियम उर्जाको ठाउँमा आफैंले उत्पादन गरेको जलविद्युतको प्रयोगले अर्थतन्त्र, वातावरण, जनस्वास्थ्यमा लाभ हुने धारणा राख्नुभयो । विद्युतीय सवारी प्रयोगबारे दुई ठूलो छिमेकीको लक्ष्यलाई पनि सरकारले हेरिरहेको उहाँको भनाइ थियो ।