

लहान, ६ कात्तिक । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा दुई मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।
बा ८०प ७३०९ र ज ३प ४५८८ नंको मोटरसाइकल ठोकिँदा ज ३प ४५८८ नंको मोटरसाइकल चालक मिर्चैया नगरपालिका–१० का ६० वर्षीय सुकदेव मण्डल र सोही मोटरसाइकलमा सवार ५० वर्षीय शिवलाल मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शिवलालको उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटामै र सुकदेवको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । दुर्घटनामा पैदलयात्री ६७ वर्षीया हरिमाया दमिनी र बा ८०प ७३०९ नंको मोटरसाइकलमा सवार उदयपुर, त्रियुगा नगरपालिका–१२ का २२ वर्षीय सुशान्त दनुवारको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी पशुपतिनगर–झापाबाट पाँचथरतर्फ जाँदै गरेको मे १ज २६५७ नंको ट्याक्सी देउमाई नगरपालिका–६ मेची राजमार्गस्थित मुदालेममा सडकबाट तल खस्दा पाँचथर राँकेका चन्द्रबहादुर दमाईंको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । ट्याक्सीमा सवार अन्य ११ जना घाइते भएकामा सबैलाई उपचारका लागि इलाम अस्पताल पुर्याइएको छ ।
त्यसैगरी स्याङ्जा–गल्याङ नगरपालिका–१ स्थित मालुङ्गामा आज अपराह्न जीप र स्कुटर ठोकिँदा स्कुटरमा सवार गुल्मी, मालिका गाउँपालिका– १ बस्ने २२ वर्षीया रुपा थापाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ । लु १च ७२५६ नंको जीप र लु ३७प ३०९० नंको स्कुटर ठोकिँदा रुपाका पति २७ वर्षीय महेश पुन मगर घाइते छन् । जीप चालक रुपन्देहीको सिद्घार्थ नगरपालिका–११ का २७ वर्षीय एकरार पठान जीपसहित प्रहरी नियन्त्रणमा छन् । रासस