लुम्बिनी प्रादेशिक अस्पताल तेस्रो पटक पनि उत्कृष्ट, ९० अंकसहित नेपालमै पहिलो

लुम्बिनी प्रादेशिक अस्पताल तेस्रो पटक पनि उत्कृष्ट, ९० अंकसहित नेपालमै पहिलो

रूपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन (एमएसएस) मा लगातार उत्कृष्ट नतिजा हासिल गर्दै यस वर्ष पनि ‘सेकेण्डरी बी’ लेभल अस्पतालतर्फ ९० अंकसहित नेपालमै पहिलो स्थान कायम गरेको छ।

अस्पतालले गत वर्ष ८९ अंकसहित पनि पहिलो स्थान हासिल गरेको थियो। यस वर्ष भक्तपुर अस्पतालले पनि समान ९० अंक प्राप्त गरेको छ।

अस्पतालमा आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्तिबारे जानकारी गराइएको थियो।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सरकारी अस्पतालप्रति रहेको नकारात्मक धारणा क्रमशः हट्दै गएको उल्लेख गर्दै सेवामा गुणस्तर कायम राख्न आग्रह गरे। उनले उत्कृष्टता हासिल गर्नुभन्दा त्यसलाई निरन्तरता दिनु अझ चुनौतीपूर्ण हुने बताए।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रोशनलाल चौधरीले सेवा थप विस्तार र विशिष्टिकरणमा जोड दिएका छन्। प्रदेश सरकारले आवश्यक पूर्वाधार, जनशक्ति र बजेट व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले प्राप्त नतिजा पर्याप्त नभएको उल्लेख गर्दै थप सुधारका योजनासहित अघि बढिरहेको बताए। उनले नीतिगत निर्णय गर्दा कार्यान्वयन पक्षलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए।

अस्पतालले सेवा विस्तारअन्तर्गत एमआरआई सेवा, स्त्रीरोगतर्फ समर्पित अपरेशन थिएटर, डिजिटल भुक्तानी, एसएमएसमार्फत रिपोर्ट सेवा, फार्मेसी विस्तार, २४ घण्टा बीमा सेवा र सामाजिक सेवा इकाई सञ्चालन जस्ता कार्यक्रम अघि बढाएको जनाएको छ। साथै वेस्ट म्यानेजमेन्टका लागि आधुनिक प्रविधि प्रयोग र आइभिएफ सेवा सञ्चालनका लागि अध्ययनसमेत भइरहेको छ।

अस्पतालमा ५१ विशेषज्ञ चिकित्सकसहित ८५० भन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारीबाट सेवा प्रदान भइरहेको प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिएका छन्।