

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ बजे हुने भएको छ। शपथका लागि सबै तयारी पूरा भएको सङ्घीय संसद् सचिवालय ले जनाएको छ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराउने कार्यक्रम रहेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्। केसीले यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।
शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुनेछ। सचिवालयका अनुसार ४७ जना सांसदले नेपालीबाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन्, जसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिनेछन्।
नेपालको संविधानको धारा ९९ र ९१(५) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम शपथ लिने व्यवस्था रहेको छ।
सचिवालयले सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको तस्बिर दुई प्रति सहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ। साथै औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन पनि अनुरोध गरिएको छ।
शपथ समारोहका लागि बहुउद्देश्यीय हलमा सिट, रोष्ट्रम, सभामुख आसन, महासचिव तथा सचिवालयका लागि आवश्यक व्यवस्थापन पूरा गरिएको छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले १८२, नेपाली कांग्रेस ले ३८, नेकपा (एमाले) ले २५, नेपाल कम्युनिस्ट पार्टी ले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ५ सिट प्राप्त गरेका छन्।