निर्वाचन ऐतिहासिक उपलब्धि : प्रधानमन्त्री कार्की

निर्वाचन ऐतिहासिक उपलब्धि : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताएकी छन्।

बुधबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा उनले जेन–जी आन्दोलनपछिको असामान्य अवस्थालाई सामान्य बनाउँदै निर्वाचन सम्पन्न गर्नु ठूलो सफलता भएको बताइन्।

निर्वाचन गराउनु चुनौतीपूर्ण भए पनि राष्ट्रपति रामचन्द्र पौडेलले तोकेको मितिमै स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गरेर संवैधानिक प्रणालीलाई सुदृढ बनाइएको उनले दाबी गरिन्।

प्रधानमन्त्री कार्कीका अनुसार यस निर्वाचनले लोकतान्त्रिक मूल्य–मान्यतालाई बलियो बनाउँदै नयाँ राजनीतिक अध्यायको सुरुवात गरेको छ। मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएको उनको भनाइ छ।

सरकार गठनको बेला देशको सुरक्षा अवस्था संवेदनशील र राजनीतिक दलहरूबीच संवादहीनता रहेको स्मरण गर्दै उनले त्यस्तो परिस्थितिमा सरकारको नेतृत्व गर्दै ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु सहज नभएको उल्लेख गरिन्।

उनले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी को नेतृत्वमा आयोगले स्पष्ट कार्ययोजना, व्यवसायिक दक्षता र दृढताका साथ सफलता हासिल गरेको बताइन्।

यसपटकको निर्वाचनले सुरक्षा, स्वच्छता, मितव्ययिता र समयपालनमा नयाँ मानक स्थापित गरेको पनि उनले दाबी गरिन्। निर्वाचन घोषणापछि मतदाता नामावली संकलन गरी ठूलो संख्यामा युवालाई समेटिएको र राष्ट्रिय परिचयपत्र प्रणालीसँग तथ्यांक आबद्ध गरी प्रक्रिया सहज बनाइएको उनले बताइन्।

उनले यस निर्वाचनले नेपालको लोकतान्त्रिक व्यवस्थालाई अझ मजबुत बनाएको बताइन्।