

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले इराकमा बढ्दो सुरक्षा जोखिमबारे गम्भीर चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई तत्काल देश छाड्न निर्देशन दिएको छ।
मन्त्रालयका अनुसार इराकमा इरान समर्थित उग्रवादी समूह हरूले अमेरिकी नागरिक तथा अमेरिकासँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण तीव्र पारेका छन्। विशेषगरी इराकी कुर्दिस्तान क्षेत्रमा समेत आक्रमण विस्तार भएको उल्लेख गरिएको छ।
सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक विज्ञप्तिमा अमेरिकी नागरिकलाई तुरुन्तै इराक छाड्न आग्रह गर्दै, हालको परिस्थितिमा बग्दाद स्थित दूतावास वा एरबिल स्थित वाणिज्य दूतावास जानसमेत जोखिमपूर्ण रहेको बताइएको छ।
इराकको हवाई क्षेत्रमा मिसाइल, ड्रोन र रकेट आक्रमणको खतरा कायमै रहेकाले सुरक्षा अवस्था अत्यन्त संवेदनशील बनेको मन्त्रालयको भनाइ छ। यसैबीच, भिसा सेवा लगायत सबै नियमित कन्सुलर सेवा अस्थायी रूपमा निलम्बन गरिएको छ।
आपत्कालीन अवस्थामा रहेका अमेरिकी नागरिकलाई इमेलमार्फत सम्पर्क गर्न आग्रह गरिएको छ।