रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता लिने निर्णयको विरोधमा परेको रिटलाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको छ।

सोमबार सुनुवाइ नसकिएपछि न्यायाधीश विनोद शर्माअब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उक्त रिटलाई हेर्दाहेर्दैमा राख्दै मंगलबार पुनः सुनुवाइ गर्ने निर्णय गरेको हो।सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए। अब प्रतिवादी पक्षको बहस बाँकी रहेको छ।

यसअघि सविता भण्डारी बरालले लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसविरुद्ध रिट दायर भएको हो। रिट निवेदकहरूमा युवराज सफल, दिनेश त्रिपाठी र आभास रेग्मी रहेका छन्।

यसअघि चार दिनसम्म सुनुवाइ भएको थियो। सारंगा सुवेदीसुनिलकुमार पोखरेल को इजलासले महान्यायाधिवक्ताको पछिल्लो निर्णय तथा सम्बन्धित फाइल झिकाउन आदेश दिएपछि सोमबार पुनः सुनुवाइ सुरु भएको हो।

महान्यायाधिवक्ताको निर्देशनअनुसार विभिन्न जिल्ला सरकारी वकिल कार्यालयहरूले सम्बन्धित अदालतमा अभियोगपत्र संशोधनको निवेदन दिएका छन्। तर जिल्ला अदालतहरूले सर्वोच्चबाट रिटको टुंगो लागेपछि मात्रै निर्णय गर्ने बताएका छन्।

लामिछानेविरुद्ध कास्की, रूपन्देही, काठमाडौं र पर्साका सहकारी प्रकरणमा ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा दायर भएका छन्।