काठमाडौं । सोमबार दिनभर उतारचढावमा रहेको सेयर बजार अन्तिममा सामान्य वृद्धि सहित बन्द भएको छ। नेप्से परिसूचक ५.०१ अंकले बढ्दै २९३६ बिन्दुमा कायम भएको हो।
दिउँसो २:३४ बजे २९११ अंकसम्म झरेको बजार अन्तिम समयमा सुधार हुँदै उकालो लागेको थियो। तर, कारोबार रकम भने घटेको छ। अघिल्लो दिन २३ अर्ब ५९ करोडको कारोबार भएकोमा आज १५ अर्ब ७८ करोडमा सीमित रह्यो।
आज १०२ कम्पनीको शेयर मूल्य बढ्दा १५४ कम्पनीको घट्यो भने ८ कम्पनी स्थिर रहे। समूहगत रूपमा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी १.५३ प्रतिशतले बढेको छ। त्यस्तै फाइनान्स, हाइड्रोपावर, लगानी, माइक्रोफाइनान्स र अन्य समूहमा पनि सामान्य वृद्धि देखियो।
तर बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूहका सूचकहरू घटेका छन्।
आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। तीमध्ये रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्।
त्यस्तै फर्स्ट माइक्रोफाइनान्स, आशा लघुवित्त र मेरो माइक्रोफाइनान्स को शेयर मूल्यमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। यता सिन्धु विकास बैंक को मूल्य सबैभन्दा बढी ३.२३ प्रतिशतले घटेको छ।
आज सर्वाधिक कारोबार भएका कम्पनीमा कुमारी बैंक, शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र ङादी ग्रुप रहेका छन्।