पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दायर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा पूर्वसचिव केदारबहादुर अधिकारी सहित २१ जना र ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ। अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीका मुख्यसचिव समेत हुन्।

अख्तियारले तत्कालीन सचिव अधिकारीसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेलप्रदीप अधिकारी विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

यस प्रकरणमा प्राधिकरणका अन्य इन्जिनियर, लेखा अधिकृत तथा ठेकेदार कम्पनी China CAMC Engineering Co. Ltd. र परामर्शदाता ERMC/A-not/Slate JV का प्रतिनिधिहरूलाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारले करिब ४६ करोड १५ लाख ८४ हजार रुपैयाँ बिगो दाबी गरेको छ। चिनियाँ एक्जिम बैंकको ऋण सहयोगमा बनेको परियोजनामा परामर्शदाताका लागि छुट्याइएको बजेट प्रयोग नगरी प्राधिकरणको आन्तरिक स्रोतबाट थप ५० करोडभन्दा बढी खर्च गराई दोहोरो व्यय गराइएको अभियोग छ।

ठेक्का सम्झौताको सर्तविपरीत सीमित प्रतिस्पर्धाबाट परामर्शदाता नियुक्त गरी राज्यलाई नोक्सानी पुर्‍याइएको र लागत बढाउन मूल्य तालिकामा हेरफेर गरिएको अख्तियारको ठहर छ।

निर्माण सम्पन्न भएर सञ्चालनमा आइसके पनि विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसकेको अवस्थामा यस्तो भ्रष्टाचार प्रकरण बाहिर आएको हो।