१७ पुस, काठमाडौं । लगानी बोर्डले नागढुंगादेखि कोटेश्वर हुँदै धुलिखेलसम्मको रेलमार्गको सम्भाव्यता अध्ययन शुरु गर्दैछ ।
कम्पनी छनोटका लागि टेन्डर आह्वानको तयारी भइरहेको बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेका अनुुसार अध्ययनका लागि करिब एक वर्ष लाग्नेछ ।
सम्भाव्य देखिए वर्षदिनभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार पार्न सकिने बोर्डका अधिकारीहरु बताउँछन् । गत २७ कात्तिकमा सरकारले उक्त आयोजना लगानी बोर्डमार्फत् अगाडि बढाउने निर्णय गरेको थियो ।
बोर्डले काठमाडौंमा रेलमार्गबारे एक अध्ययन प्रतिवेदन यसअघि नै तयार पारेको छ, जसलाई १० पुसको बोर्ड बैठकमा पेश गरिएको थियो ।
२५ पुस ०७३ को बोर्ड बैठकले सम्भाव्यतासँगै मेट्रो रेलको विकास मोडेल तथा अनुदानबारे अध्ययन गर्न एक समिति गठन गरेको थियो । सोही समितिले तयार पारेको प्रतिवेदनमा टेक्दै सरकारले बोर्डलाई काम अगाडि बढाउन निर्देशन दिएको थियो ।
नागढुंगा-धुलिखेल रेलमार्गको लम्बाइ ७९ किलोमिटर हुनेछ । त्यसको निर्माण लागत तीन खर्ब १६ अर्ब रुपैयाँ अनुमानित छ
त्यसअघि जापानी सहयोग नियोग (जाइका) र कोरियाली इन्जिनियरिङ कम्पनीले पनि काठमाडौंमा रेलमार्गबारे अध्ययन गरेका थिए । ती सबै प्रतिवेदनलाई आधार बनाएर विभागले आफ्नो रिपोर्ट तयार पारेको हो ।
नागढुंगा-धुलिखेल रेलमार्गको लम्बाइ ७९ किलोमिटर हुनेछ । त्यसको निर्माण लागत तीन खर्ब १६ अर्ब रुपैयाँ अनुमानित छ ।
बारम्बार अध्ययन भए पनि भौतिक प्रगति नहुँदा उक्त आयोजना कागजमै सीमित छ । अहिलेसम्म डीपीआरसम्म तयार हुन सकेको छैन ।
उक्त रेलमार्गलाई ‘काठमाडौं-१’ नामाकरण गरिएको छ । र, सार्वजनिक-निजी साझेदारी (पीपीपी)अन्तर्गत बुट मोडेलमा निर्माण गर्ने बोर्डको तयारी छ ।
बोर्डको प्रतिवेदनमा बूढानीलकण्ठबाट सातदोबाटो हुँदै काठमाडौं-तराई द्रुत मार्ग जोड्ने रेलमार्ग निर्माणको जिम्मा रेल विभागलाई दिन सुझाइएको छ । तर, त्यो बोर्ड बैठकबाट पारित भएको छैन ।
अहिलेकै गतिमा काम भए ‘काठमाडौं-१’ रेलमार्गका लागि डीपीआर तयार र निर्माण कम्पनी छनोट गर्न कम्तिमा अढाइ वर्ष लाग्नेछ । र, तत्काल भौतिक प्रगति शुरु भए तीन वर्षपछि संरचनाहरु निर्माण हुन थाल्नेछन् ।