आन्तरिक कमजोरीकै कारण निर्वाचनमा पराजय : कांग्रेस

आन्तरिक कमजोरीकै कारण निर्वाचनमा पराजय : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा भएको पराजयका पछाडि पार्टीकै आन्तरिक कारण प्रमुख रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसले पराजित अधिकांश क्षेत्रको मतान्तर विश्लेषण गर्दा अपेक्षित मत नआउनुमा आन्तरिक कारण नै मुख्य देखिएको बताए।

उनका अनुसार निर्वाचन अभियान (क्याम्पेनिङ) मा भएका त्रुटिहरू पनि पराजयका कारणमध्ये एक भएको भन्दै बैठकमा यसबारे विस्तृत छलफल भइरहेको छ।

चालिसेले कतिपय क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई पार्टीप्रति जनताको विश्वासमै समेत प्रश्न उठेको संकेत बैठकले गरेको उल्लेख गरे। पार्टीका क्रियाशील सदस्यको संख्या बढ्दै जाँदा मत भने घट्दै गएको अवस्थाले पनि गम्भीर समीक्षा आवश्यक भएको उनले बताए।

उनले निर्वाचन परिणामबारे पार्टीमा प्रस्तुत भएका प्रतिवेदनहरू तथा जिल्लाबाट आएका रिपोर्टहरूलाई एकै ठाउँमा राखेर सूक्ष्म अध्ययनपछि ठोस निष्कर्ष निकालिने जानकारी दिए।

साथै, आगामी दिनमा कांग्रेसले आफूलाई पुनः सुदृढ गर्दै अघि बढ्ने र पार्टीलाई नवजीवन दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।