

काठमाडौं, ५ कार्तिक । दशैँपछि राजधानीमा यातायात र मानिसको चहलपहल बढ्न थालेको छ । दशैँको फूलपातीदेखि सुनसान बनेको काठमाडौँ उपत्यकाबाट चाड मनाउन गएका मानिस फर्कन थालेका छन् ।
हिजो मात्रै एक लाख सात हजार ३ सय ४८ यात्रु उपत्यका भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता दामोदर सिलवालले जानकारी दिनुभयो । आज पनि सोही सङख्यामा काठमाडाैं आएका छन् । विजयादशमीअघि उपत्यका बाहिरिने सवारीको सङ्ख्या धेरै थियो भने हाल भित्रिनेको सङ्ख्या बढी छ । आजदेखि सरकारी कार्यालयसमेत सञ्चालनमा आएकाले यात्रुको आगमन क्रमशः बढ्दै जाने महाशाखाले जनाएको छ ।