

काठमाडाैं, ५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ । हिजोबाट सुरु भएको बैठकमा जिम्मेवारी बाडफाँडका मापदण्डका विषयमा छलफल हुनेछ ।
वरिष्ठ नेता माधव नेपाल समूहको असन्तुष्टि सम्बोधनका लागि पनि छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, कात्तिक १२–१३ गते बस्ने स्थायी समिति बैठकको कार्यसूची तर्जुमा, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापन लगायत विषयमा छलफल भईरहेको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता घोषणामा तीन महीनाभित्र तल्लो तहसम्म एकतालाई पूर्णता दिने भनिए पनि ढिलाइ भईरहेको छ ।
प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको चयनमा वरिष्ठ नेता माधवकुमार नेपालले व्यक्त गरेको असन्तुष्टि, मन्त्रीहरूको कार्यप्रगति, नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट संसदमा ल्याउने सम्बन्धी प्रस्तावलगायत विषयमा पनि सचिवालय बैठकमा छलफल भइरहेको एक नेताले बताए ।