काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदन सोमबार पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ।
सर्वोच्च अदालतमा सोमबार भएको सुनुवाइ नसकिएपछि इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राख्दै मंगलबारका लागि सुनुवाइ तोकेको हो। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भएको थियो।
यसअघि आइतबार पनि यस रिटमा सुनुवाइ भएको थियो। त्यतिबेला पनि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखेर सोमबारका लागि पेश गरिएको थियो। यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेल को संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको थियो।
सविता भण्डारी बरालले अघिल्लो सरकारको पालामा लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गर्दै आवश्यक प्रक्रियाका लागि सम्बन्धित जिल्लाका सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।
जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा फिर्ता (अभियोग संशोधन) को निवेदन अदालतमा पेश गरे पनि जिल्ला अदालतले सर्वोच्चमा रहेको यस मुद्दाको टुंगो नलागेसम्म कुनै निर्णय नगर्ने जनाएको छ।
उक्त निर्णयविरुद्ध युवराज पौडेल, दिनेश त्रिपाठी र आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।
यद्यपि यी दुई कसुरमा मुद्दा फिर्ता भए पनि लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा भने कायम रहनेछ।





