इन्धनकाे मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न व्यवसायीको माग

इन्धनकाे मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ।

नेपाल आयल निगम ले गएरातिबाट लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएको थियो।

महासंघका महासचिव डेकनाथ गौतम ले सोमबार जारी विज्ञप्तिमा एकाएक भएको भारी मूल्यवृद्धिले यातायात व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष असर परेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा स्वचालित प्रणालीबाट मूल्य समायोजन हुँदै आएको भए पनि विगत २०८१/९/२२ गतेदेखि भाडा समायोजन भएको छैन। हाल भएको उच्च मूल्यवृद्धिले व्यवसायीहरूलाई सेवा सञ्चालन गर्न कठिन भएको छ।”

महासंघले वैज्ञानिक विधिको आधारमा भाडा समायोजन गर्न माग गरेको छ। सवारी साधनसँग सम्बन्धित १३ सूचकका आधारमा संघीय रुट तथा सातै प्रदेशका रुटमा लागू हुनेगरी भाडा यथाशीघ्र समायोजन गर्न सरकारसँग आग्रह गरिएको छ।