काठमाडौं, ४ कार्तिक । पार्टीको आन्तरिक विवाद र दसैँका कारण लगातार दुई पटक स्थगित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक तीन साता पछि आज बस्दै छ । प्रधानमन्त्री निवासमा बालुवाटारमा आज बैठक डाकिएको छ । तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्नका लागि आज र भोलीकालागि सचिवालय बैठक बोलाइएको बताइएको छ ।
पूर्व निर्धारित असोज २४ र २७ गते बस्न नसकेको सचिवालय बैैठकमा पार्टी संगठनहरुको एकीकरण, केन्द्रीय आयोग र विभागहरुको गठनबारे केन्द्रीत हुने छ । यस्तै पार्टी, संसद र सरकार सञ्चालनका विषयहरु पनि बैठकको एजेण्डा बन्ने छन् । बैठकमा सचिवालय, स्थायी कमिटि र केन्द्रीय सदस्यको कार्य्विभाजनबारे पनि छलफल हुने छ। एमाले र माओवादीबीच एकता भएको पाँच महिना बितिसक्दा पनि गठन हुन नसकेको पोलिटव्युरोको एजेण्डा पनि बैठकमा प्रवेश गर्ने सभांवना छ। बैठकमा सचिवालय सदस्य एवं वरिष्ठ नेता माधव नेपालले प्रदेश नेतृत्व छनौटबारे पटकपटक सार्वजनिक र औपचारिकरुपमा व्यक्त गर्दै आएको असन्तुष्टीबारे समेत छलफल हुने अनुमान गरिएको छ।
पार्टी एकता भएको लामो समय वितिसक्दा पनि नेकपाको प्रदेश कमिटीले पूर्णता पाउन सकेको छैन् । यस्तै, जिल्ला कमिटि र प्रवास कमिटि गठन गर्न बाँकी नै छ।
नेता नेपाल र प्रवक्ता श्रेष्ठ विदेश भ्रमणमा रहेका बेला असोज पाँच गतेको सचिवलय बैठकले प्रदेश नेतृत्व छनौट गरेको थियो । स्वदेश फर्किए लगत्तै नेता नेपालले स्थायी कमिटिलाई ‘वाइवास’ गरेर पार्टी नेतृत्वले प्रदेश नेतृत्व छनौट गरेको भन्दै त्यसविरुद्ध पार्टी सचिवालयमा निवेदन दिएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसँघको महासभामा भाग लिन अमेरिका गएका बेला संसद र आफुले आयोजना गरेको चियापान कार्यक्रममा नेता नेपालले पार्टी नेतृत्वको एकलौटी निर्णय विरुद्ध एकत्रित हुन स्थायी कमिटि सदस्यहरुलाई आव्हान गरेका थिए।
नेतृत्वले स्थायी कमिटिको बैठक तीन महिना वितिसक्दा पनि आव्हान नगरेको भन्दै आन्तरिक विरोधका स्वरहरु उठ्न थाले छन् । यसैबीच प्रधानमन्त्री ओलीले मन्त्रीको कार्ययोजना र कामका आधारमा केहीमन्त्री फेरबदल गर्ने इच्छा व्यक्त गरेकाले त्यसमा पनि बैठकमा छलफल हुनेछ । प्रधानमन्त्री ओलीले ६ महिने कार्ययोजना मन्त्रीहरुलाई यसअघि नै माग्नु भएको थियो । सरकारले जनभावना र मर्म मुताविक काम गर्न नसकेको र जनगुनासो चुलिएको भन्दै सरकारको कामको गम्भीर समीक्षा हुने पनि सचिवालय स्रोतले जानकारी दिएको छ ।