१७ पुस, काठमाडौं । जनकपुर-जयनगर ब्रोडगेज रेलमार्गमा लिक बिछ्याउन शुरु गरिएको छ । भारत सरकारले विस्तार र नयाँ निर्माण गरिरहेको यो रेलमार्गमा पटरी राखेर लिक बिछ्याउन थालिएको हो ।
कुर्ता-जनकपुर-जयनगर रेलमार्गको पुरानो न्यारोगेजलाई हटाएर ब्रोडगेज निर्माणाधीन छ । उक्त मार्गमा क्रंक्रिटको पटरी राखेर लिक बिछ्याउने काम तीव्र गतिमा रहेको रेल विभागका महानिर्देशक अनन्त आचार्यले अनलाइनखबरलाई जानकारी दिए ।
उक्त रेलमार्गको निर्माण सन् २०१४ देखि शुरु भएको हो । सोही कारण जनकपुर-जयनगर रेल सेवा तीन वर्षयता बन्द छ ।
ब्रोडगेज विस्तारका लागि पुल र कल्भर्ट बनिसकेका छन् । स्टेसनहरुको निर्माण पनि लगभग सकिएको महानिर्देशक आचार्यले जानकारी दिए ।
उनका अनुसार सबै निर्माण अक्टोबर २०१८ सम्ममा सक्ने लक्ष्य छ । त्यसपछि बोगी र इन्जिन ल्याएर गुडाउन सकिनेछ ।
उक्त रेलमार्ग ३५ किलोमिटर लम्बाइको छ । भारतीय कम्पनीले कार्यालय भवन, भन्सार र कर्मचारीको आवासगृह पनि बनाइसकेको छ ।
कुर्ताबाट महोत्तरीको विजलपुरासम्म रेल गुडाउने विभागको योजना छ । र, त्यहाँबाट पूर्वपश्चिम राजमार्गको बर्दिवास खण्डमा जोड्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ ।
उक्त मार्गमा रेलका इन्जिन र डिब्बा कसले, कुन प्रक्रियाबाट ल्याउने भन्ने निर्णय भएको छैन । विभागले अर्थ मन्त्रालयसँग रेल र डिब्बाका लागि तीन अर्ब रुपैयाँ लाग्ने जानकारी गराइसकेको छ ।
अर्थ मन्त्रालयले भने लिक तयार भएपछि मात्र बजेट दिन सकिने बताएको छ । यस वर्ष रेल विभागले चार अर्ब रुपैयाँ मात्र पाएको छ ।
पूर्व-पश्चिम रेलमार्गका लागि काम गरिरहेको विभागलाई जनकपुर-जयनगरमा रेल गुडाउन यस वर्ष बजेट दिइएको छैन ।
कुर्ता-जनकपुर-जयनगर मार्गमा रेल सञ्चालन गर्न भारत सरकारले पनि चासो देखाएको छ ।
विभागले यसअघि उक्त रुटमा रेल गुडाउन ‘आउटसोर्सिङ मोडालिटी’ प्रस्ताव गरेको थियो । विदेशका अनुभवी कम्पनीलाई सञ्चालन, व्यवस्थापन र सीप हस्तान्तरणमा सहभागी गराउने अवधारणा हो त्यो ।
स्वदेशमा अनुभवी जनशक्ति अभावका कारण उक्त मोडालिटीमा पनि छलफल भइरहेको विभागका वरिष्ठ इन्जिनियर प्रकाश उपाध्याय बताउँछन् ।
‘हामीसँग रेल चलाउने अनुभवी मान्छे छैनन् । मर्मतका लागि प्राविधिक पनि छैनन्,’ उपाध्याय भन्छन्, ‘स्टेसन म्यानेजरलगायत अनुभव बटुलेका जनशक्ति उपलब्ध नभएकाले केही वर्ष बाहिरका कम्पनीलाई व्यवस्थापनको जिम्मा दिनुपर्छ ।’
तीन वर्षका लागि ‘आउटसोर्सिङ’ गर्दा नेपालीलाई रेल सञ्चालनको सबै सीप कम्पनीले नै सिकाउनुपर्ने सर्त राख्ने योजना विभागको छ । महानिर्देशक आचार्य भने रेल सञ्चालनसम्बन्धी निर्णय नेपाल-भारतको संयुक्त समितिले लिने बताउँछन् । अनलाइनखबरबाट