

नवलपरासी, ४ कार्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा आज बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा मृत्यु हुनेमा गुल्मीको हस्तिचौर गाउपालिका–२ घर भइ नेपाली सेनाको मोरङ लेटाङ्ग गणमा कार्यरत ३५ वर्षीय तिलक विष्ट, मोरङको सुन्दरचौरका ११ वर्षीय सोहन कार्की, भोजपुरका २७ वर्षका रामजीत राई, सुनसरी घर भइ जिल्ला जनस्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीया अब्दुल अन्सारी र भारत बिहारका विद्यान्नद यादव रहेका छन् । मृत्यु हुने अर्का एक पुरुषको नाम, ठेगाना खुल्न बाँकी रहेको छ ।
दुर्घटनामा परी घाइते भएका ३७ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भई स्थानीय मेडिकलमा उपचाररत छ जना उपचारपछि घर फर्किएका छन् । इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४५४ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको थियो । बसमा क्षमता भन्दा बढि यात्रु सवार रहेकोले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रु बसमा खचाखच थिए । प्रारम्भिक अनुसन्धानमा बसका चालक निदाउँदा दुर्घटना भएको देखिएको प्रहरीको भनाइ छ ।