

तस्विरः दशैंको अवसरमा मान्यजनबाट टिका ग्रहण गरेपछि रमाउदै बालबालिका ।
काठमाडौं, ३ कार्तिक । नेपाली हिन्दु धर्मालम्बीहरुको महान् चाड बडादसैं अन्तर्गत आज एघारौं दिन अर्थात् एकादशी । आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ । हिजो विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज टीका लगाउँदैछन् भने पश्चिम नेपालका क्षेत्रहरुमा भने दशमीको एक दिन मात्रै टिका लगाउने चलन छ ।
दुर्गा विसर्जनपछि परिवारमा सवैभन्दा जेठो व्यक्तिसँग क्रमसः टिका थापेकाहरु आज बाँकी आफन्तको घरमा टिकाटालो गर्न जाने गर्दछन् । विशेष गरी मामाघर, ससुराली र बुढोमावलीमा मान्यजनबाट टिका लगाउन जाने चलन छ । परिवारमा जेठो व्यक्तिले दशैंको टीका लगाइदिएपछि गच्छे अनुसारको दक्षिणा दिने चलन छ भने आफन्तको घरमा टिका लगाउन जाँदा कोसेली लैजाने चलन छ । अझ पहिलोपल्ट ससूराली जानेहरुले विशेष कोसेली तथा उपहारहरु लैजाने गर्छन् । मान्यजनहरुले छोरी, ज्वाई, भान्जाभान्जीलाई टिकासँगै आशिर्वाद र दक्षिणा पनि दिने चलन छ । त्यस्तै, दशैंको टिकाको दिन पिङ्मा मच्चिएर एकछिन भएपनि धर्ती छोड्नुपर्छ भन्ने मान्यताका साथ अधिकांस गाउका खर्क, देउराली तथा चौराहरुमा दिनभर पिङ्मा मच्चिनेहरुको जमघट देखिन्छे । दशैंको बेला विशेष गरी किशोर पुस्ताले चङ्गा उडाएर मनोरञ्जन लिन्छन् ।
विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । असत्यमाथि सत्य र आसुरी शाक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसैं मनाइँदै आएको छ । घटस्थापनादेखि नौ दिनसम्म घरमा दुर्गाभवानीको पुजाआराधाना गरी राखिएको जमरा सहितको टीका वियजादशमीदेखि लगाउने परम्परागत चलन हो । आज बिहानैदेखि टीका लगाउन आफन्तकहाँ जानेहरुका कारण राजधानीमा गाडीको चहपहल केही बढेको छ । टीकाको दिन राजधानीका सडक प्रायः सुनसान थियो । आज भने निधारमा रातो टीका र पहेँलो जमरा लगाएर गन्तव्यतिर हिँडेकाहरुका कारण बिस्तारै राजधानी पनि चलायमान बन्दैछ ।