

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिसा विकका लागि न्यायको माग गर्दै आज पनि राजधानीमा विरोध प्रदर्शन गरिएको छ।
बिहीबार माइतीघर मण्डलामा विभिन्न समूह र नागरिक समाजका व्यक्तिहरूले प्रदर्शन गर्दै घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले ‘इनिसा विकलाई न्याय दे’, ‘बलात्कारीलाई फाँसी दे’, ‘जात व्यवस्था मुर्दावाद’, ‘बलात्कारीलाई कारबाही गर’, ‘पितृसत्ता मुर्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
यसैबीच घटनाको थप अनुसन्धान भने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत ले बुधबार उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो।
प्रहरी निरीक्षकको कमान्डमा ब्यूरोको विज्ञ टोली शुक्रबारसम्म वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोनजंग बुढथापा ले जानकारी दिएका छन्।