पश्चिम एसियाको द्वन्द्वपछि अनलाइन प्रणालीमा ६५ हजार बढी नेपालीले गरे नाम दर्ता

पश्चिम एसियाको द्वन्द्वपछि अनलाइन प्रणालीमा ६५ हजार बढी नेपालीले गरे नाम दर्ता

काठमाडौं । पश्चिम एसियामा बढ्दो द्वन्द्वको पृष्ठभूमिमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा हालसम्म ६५ हजार ८८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएका छन्।

दर्ता भएका विवरणको अध्ययन गरी आवश्यकताअनुसार उद्धार तथा सहायताका प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ। संयुक्त राज्य अमेरिकाइजरायलले इरान माथि आक्रमण गरेपछि पश्चिम एसियामा द्वन्द्व चर्किएको छ।

त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा आवश्यक सहायताका लागि विभागले फागुन १८ गतेदेखि उक्त अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो। सो पोर्टलमार्फत पश्चिम एसियामा रहेका नेपाली राजदूतावासहरूले त्यहाँ रहेका नेपाली नागरिकको विवरण सङ्कलन गरिरहेका छन्।

कन्सुलर सेवा विभागका महानिर्देशक दुपर्दा सापकोटा का अनुसार पोर्टलमार्फत सङ्कलित विवरण अध्ययन गरी आवश्यक कदम चाल्ने काम भइरहेको छ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पश्चिम एसियामा रहेका नेपाली नागरिकको सुरक्षा, हित र कल्याणका लागि मन्त्रालय र त्यहाँस्थित नेपाली नियोग निरन्तर सक्रिय रहेको बताए। उनका अनुसार समस्यामा परेका नेपालीको उद्धार तथा सहायताका लागि नियोगहरूले निरन्तर समन्वय गरिरहेका छन्।

यसैबीच, परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित ‘इमर्जेन्सी रेस्पोन्स टिम’को बुधबार बसेको दोस्रो बैठकले समस्यामा परेका नेपालीसँग इमेल, फोन वा अन्य माध्यमबाट सम्पर्क गर्न तथा उनीहरूको अवस्था र प्रतिक्रिया सङ्कलन गरी प्रतिवेदन पेश गर्न पश्चिम एसियास्थित सबै नेपाली नियोगलाई निर्देशन दिएको छ।

साथै मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका सबै नेपाली नागरिकलाई संयमित, सचेत र सजग रहन तथा कानुनविपरीत फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड तथा आदानप्रदान नगर्न आग्रह गरेको छ।