

काठमाडौं । उदयपुर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको तथ्य सार्वजनिक भएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका सूर्यबहादुर तामाङ १४ हजार ८०२ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी अम्बरबहादुर रायमाझी ले ७ हजार ६४८ मत प्राप्त गरेका थिए।
त्यस्तै रामकुमार राई ले ७ हजार २९०, सुरेश कुमार राई ले ५ हजार १९७ र वलराज राई ले ४ हजार १३९ मत प्राप्त गरेका थिए।
निर्वाचन परिणाम सार्वजनिक भएपछि तामाङ संलग्न कम्पनी चेक बाउन्स प्रकरणमा कालोसूचीमा परेको तथ्य बाहिर आएको हो। कर्जा सूचना केन्द्र का अनुसार तामाङ संलग्न कम्पनी ‘मकालु कान्जिरुवा अटो लिंक प्रालि’ कालोसूचीमा परेको छ। केन्द्रको अभिलेखअनुसार उक्त कम्पनीको नाम कालोसूचीको १०१,५१४ नम्बरमा रहेको उल्लेख छ।
उक्त कम्पनीका सञ्चालक सूर्यबहादुर तामाङ र लीला राई रहेका छन्।
यसअघि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पुष्टि भएपछि निर्वाचन आयोग ले धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साह (कमल) को उम्मेदवारी खारेज गरेको थियो। उम्मेदवारी खारेज भएपछि सो क्षेत्रबाट मातृका प्रसाद यादव निर्वाचित भएका छन्।
आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध साहले सर्वोच्च अदालत मा मुद्दा दायर गरेका छन्। अदालतले सो निर्णयसँग सम्बन्धित फाइलसहित यही फागुन २९ गते उपस्थित हुन निर्वाचन आयोगलाई निर्देशन दिएको छ।
न्यायाधीश नृपध्वज निरौला को एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो। सो क्षेत्रमा रास्वपाका साहकै पक्षमा बढी मत आए पनि उम्मेदवारी खारेज भएपछि आयोगले मातृका प्रसाद यादव लाई निर्वाचितको प्रमाणपत्र प्रदान गरेको छ।