

काठमाडौं । कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम अप्रत्याशित भएको टिप्पणी गरेका छन्।
बुधबार नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता सिटौलाले पार्टीबाट राष्ट्रिय सभामा नवनिर्वाचित तथा बहालवाला सदस्यहरूबीच आयोजित परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।
उनका अनुसार प्रतिनिधिसभा निर्वाचनको नतिजा अपेक्षाभन्दा फरक देखिएको छ। नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी तथा मधेस केन्द्रित दलहरूका लागि यो परिणाम केही हदसम्म अप्रत्याशित देखिएको उनले बताए।
‘यो अप्रत्याशित लाग्यो मलाई, तथापि पार्टीभित्र छलफल गर्न बाँकी छ। पुराना दलहरूको हैसियत उस्तै–उस्तै देखिन्छ,’ उनले भने। निर्वाचन परिणामले पुराना दलहरूको हैसियत झण्डै उस्तै देखिएको उनको भनाइ छ।
सिटौलाले हाल निर्वाचित भएर आएका राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदहरूले देश र जनताको हितमा कस्तो काम गर्छन् भन्ने विषयले आगामी राजनीतिक दिशालाई प्रभाव पार्ने पनि बताए।
बदलिँदो राजनीतिक परिस्थिति र नयाँ शक्तिको उदयसँगै पुराना दलहरूको भूमिकामा पनि परिवर्तन आएको उनको धारणा छ।