

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मध्यपूर्वमा उत्पन्न असहज परिस्थितिका कारण अवरुद्ध रहेको दुबई उडान पुनः सञ्चालन गर्ने भएको छ। निगमले सूचना जारी गर्दै मार्च ११ र १२ गतेका लागि काठमाडौं–दुबई दुईतर्फी विशेष उडानको तालिका सार्वजनिक गरेको हो।
निगमका अनुसार यात्रुको सहजताका लागि मार्च ११ मा काठमाडौंबाट बिहान ११:१५ बजे उडान हुनेछ भने मार्च १२ मा दुबईबाट स्थानीय समयअनुसार बिहान ४:१० बजे उडान सञ्चालन गरिनेछ। यी उडानहरू निगमको नियमित तालिका अनुसार नै सञ्चालन गरिने जनाइएको छ।
मध्यपूर्वको तनावका कारण उडान रद्द हुँदा फेब्रुअरी २८ देखि मार्च ९ सम्म टिकट लिएर पनि यात्रा गर्न नपाएका यात्रुलाई निगमले विशेष प्राथमिकता दिने जनाएको छ। ती यात्रुहरूमध्ये मार्च ११ मा यात्रा गर्न इच्छुकलाई ‘पहिलो आउनेलाई पहिलो प्राथमिकता’को आधारमा सिट उपलब्ध गराइनेछ।
यसका लागि यात्रुले आफ्नो टिकट निगमको तोकिएको इमेल ठेगानामा पठाएर पुनः प्रमाणीकरण गराउनुपर्नेछ। प्रमाणीकरण भएका यात्रुलाई मात्र विमानस्थल प्रस्थान गर्न निगमले आग्रह गरेको छ।
निगमले मध्यपूर्व क्षेत्रमा देखिएको सुरक्षा चुनौतीलाई पनि ध्यानमा राख्न यात्रुलाई अनुरोध गरेको छ। परिस्थितिका कारण जुनसुकै समयमा उडान रद्द हुन सक्ने भएकाले विषम अवस्थामा यात्रा अवरुद्ध भए निगमले थप आर्थिक वा अन्य उत्तरदायित्व वहन गर्न नसक्ने पनि सूचनामा उल्लेख गरिएको छ।
मध्यपूर्वमा बढ्दो हवाई असुरक्षाका कारण यसअघि निगमले दुबई उडानहरू पूर्ण रूपमा रद्द गरेको थियो।