

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ। निगमले आपूर्ति व्यवस्था सहज र पारदर्शी बनाउन उद्योगीहरूलाई विशेष निर्देशन समेत दिएको छ।
निगमका प्रवक्ता मनोज ठाकुर का अनुसार उद्योगीहरूले ग्यास आपूर्तिमा कुनै समस्या नभए पनि वितरण प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्। निगमले उद्योगहरूलाई आफ्नो तोकिएको क्षमताअनुसार ग्यास निरन्तर आयात गरी बजारमा पठाउन र दैनिक रूपमा कुन विक्रेतालाई कति ग्यास पठाइयो भन्ने स्पष्ट विवरण निगममा बुझाउन निर्देशन दिएको छ।
त्यसैगरी ग्यास विक्रेताहरूले पनि कसलाई ग्यास बिक्री गरियो भन्ने विवरण फोन नम्बर सहित अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ।
ग्यास वितरणमा घरायसी प्रयोजनलाई पहिलो प्राथमिकता दिनुपर्ने निगमको निर्देशन छ। होटल तथा व्यावसायिक क्षेत्रभन्दा पहिले सर्वसाधारणलाई ग्यास उपलब्ध गराउन र व्यावसायिक प्रयोजनमा पठाइएको ग्यासको छुट्टै रेकर्ड राख्न पनि भनिएको छ।
छिमेकी भारत ले घरायसी उपभोक्ताका लागि २५ दिनमा एउटा मात्र सिलिन्डर दिने व्यवस्था लागू गरेको भए पनि नेपालमा त्यस्तो समस्या नरहेको निगमले जनाएको छ।
प्रवक्ता ठाकुरका अनुसार नेपालको वार्षिक ग्यास खपत भारतको एक दिनको खपत बराबर मात्र भएकाले आपूर्तिमा समस्या नभई वितरण प्रणाली व्यवस्थित बनाउन आवश्यक रहेको हो।
उद्योगीहरूसँग भ्याट बिल र गाडी ट्र्याकिङ प्रणाली भएकाले अब कुन विक्रेताले कति ग्यास प्राप्त गर्यो र कसलाई बिक्री गर्यो भन्ने विषयमा सूक्ष्म अनुगमन गरिने निगमले जनाएको छ।
केही विक्रेताले पुराना ग्राहकलाई मात्र प्राथमिकता दिँदा नयाँ तथा आपतकालीन उपभोक्ताले ग्यास नपाएको गुनासो आएपछि सबैलाई समान रूपमा वितरण गर्न पनि निर्देशन दिइएको छ। निगमका अनुसार नयाँ व्यवस्था कार्यान्वयन भएपछि बजारमा देखिएको कृत्रिम अभाव हट्ने र उपभोक्ताले सहज रूपमा ग्यास पाउने अपेक्षा गरिएको छ।