

काठमाडौँ, २ कार्तिक । असत्यमाथि सत्यको विजयका रूपमा लिइने महान् चाड बडादसैँका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट एवम् पुनर्मिलन गराई खुशीयाली र हार्दिकता साटासाट गर्न प्रभावकारी भूमिका निर्वाह गरिरहेको हाम्रो सांस्कृतिक वैभवको रूपमा रहेको बडादशैँले सामाजिक एकता, आपसी सद्भाव र आत्मीय भ्रातृत्व अभिवृद्धिमा ठूलो मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।
घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मनाइने बडादसैँको अवसरमा विविध धार्मिक सांस्कृतिक क्रियाकलाप एवं उत्सव हुने महापर्वको यस महत्वपूर्ण अवधिमा विभिन्न प्रजातिका बीउबिजनबाट जमरा उमारी त्यसलाई प्रसाद र आशीर्वादका रूपमा ग्रहण गरिने परम्पराले प्रत्यक्ष तथा परोक्षरूपमा अन्न र स्वच्छ वातावरणको महत्व स्थापित गर्न सहयोग पुर्याएको बताउँदै राष्ट्रपति भण्डारीले दसैँघरमा कृषि औजार र विभिन्न बनस्पतिको पूजा गरिने चलनलेमानव जीवनसँग घनिष्ट सम्बन्ध रहेको बोटबिरुवा र कृषि प्रणालीको संरक्षण गर्नुपर्ने चेतना फैलाएको तथा सांस्कृतिक मूल्य मान्यता र मानव जीवनलाई सुखी र समृद्ध तुल्याउने सन्देश समेत प्रवाह गर्दै आएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
समाजमा अनादिकालदेखि हर्ष्लासपूर्वक परम्परागत मनाउने गरिएका विभिन्न चाडपर्वहरूले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबिच रहेको मौलिक सृदृढ सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न हाम्रो धरोहरका रूपमा रहेका बताउँदै उनले सन्देशमा यी बहुमूल्य सांस्कृतिक सम्पदाको संरक्षण एवं सम्बद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यसै अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सङ्घीय प्रतिनिधिसभाका सभामुख, विभिन्न राजनीतिक दलका नेतालगायत नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका व्यक्तित्वले पनि बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी हार्दिक शुभकामना प्रकट गर्नुभएको छ ।
शरद ऋतुको महान् चाड दसैँले सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, सहयोग र स्नेह बढाउने बताउँदै उपराष्ट्रपति पुनले हाम्रा चाडपर्वले धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई सम्मान गर्दै सामाजिक, सद्भाव, एकता र साझा पहिचानसहित सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले प्रकृतिको सुन्दर छटामुनि रहेका नेपाली धर्म, संस्कार, संस्कृतिले अत्यन्तै धनी रहेको उल्लेख गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधायुक्त धर्मनिरपेक्ष हाम्रो राष्ट्रमा मनाइने यस्ता चाडपर्वले आपसी सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभएको छ ।
यसै उपलक्ष्यमा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो र पार्टीका तर्फबाट स्वदेश तथा विदेश जहाँ रहनु भएको भए पनि सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभ–कामना व्यक्त गर्नुभएको छ ।
एकता, मेलमिलाप र सद्भावका रुपमा मनाइने विजया दशमी पर्वले हामी बीचमा केही मतभेदहरु छन्भने तिनीहरुलाई बिर्सेर, देशको सर्वाङ्गिण हितमा संलग्न हुने पर्वको रुपमा ग्रहण गर्न सके यसको महत्व अझ बढ्ने सभापति दउवाले बताउनुभएको छ ।
सभामुख कृष्णबहादुर महराले चाडपर्वल विभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं संस्कृतिक पहिचान रहेका सबै नेपालीका लागि समान अवसर प्राप्त हुने विश्वास व्यक्त गर्दै सामाजिक सद्भावसहित समृद्धिको कामना गरेका छन् । उनले शारदीय पर्वको सुखद् अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुस्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले हिन्दू धर्मावलम्बीको महान् चाड विजयादशमीका अवसरमा शुभकामना व्यक्त गर्दै नेपालीको उत्तरोत्तर प्रगति तथा समृद्ध जीवनका लागि मेरो व्यक्तिगत तथा परिवार एवं पार्टीका तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विविध विशेषतायुक्त नेपाली समाजमा विशेष चाडको रूपमा वहुसंख्यक नेपालीले मनाउँदै आएको महान् पर्व विजयादशमीको सुखद् अवसरमा समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।