

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज फागुन २१ आफ्नो जीवनका लागि विशेष र महत्वपूर्ण दिन भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले आज दुई संयोगले जीवनसँग जोडिएका दिन परेको उल्लेख गरेका छन्। आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो,’ उनले लेखेका छन्, ‘यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्।’
ओलीले पञ्चायती व्यवस्थाविरुद्ध भएको ‘झापा आन्दोलनको प्रसंग पनि स्मरण गरेका छन्। उनले सो आन्दोलनका क्रममा आफूलाई जेल हालिएको उल्लेख गर्दै त्यसबेला सहकर्मीहरूलाई हत्या गरिएको घटना सम्झिएका छन्।
ओलीका अनुसार आन्दोलनका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो।
उनले त्यतिबेला आफू पनि जेल सार्ने बहानामा हत्या गरिन लागेको अवस्थामा मृत्युको मुखबाट फर्किएको दाबी गरेका छन्। ‘जेल सार्ने बहानामा हत्या गरिन लाग्दा पनि मृत्युको मुखबाट फर्केर आएको थिएँ र १४ वर्षको कठोर कारावास बिताएको थिएँ,’ उनले लेखेका छन्।
ओलीले देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै फागुन २१ कहिल्यै नबिर्सने दिन भएको उल्लेख गरेका छन्।