यूएई ट्रान्जिटमा रोकिएका नेपालीको विवरण संकलन सुरु

यूएई ट्रान्जिटमा रोकिएका नेपालीको विवरण संकलन सुरु

काठमाडौं । ट्रान्जिट परेर संयुक्त अरब इमिरेट्स (यूएई) मा रोकिएका नेपालीहरूको विवरण संकलन थालिएको छ ।

नेपाल फर्किन वा तेस्रो मुलुक जाने क्रममा हालको परिस्थितिका कारण यूएईमा अलपत्र परेका नेपालीहरूको तथ्यांक संकलन सुरु गरिएको हो । कन्सुलर सेवा विभागले यूएईमा रोकिएका तथा कम्पनीको भिसा रद्द भई नेपाल फर्किने क्रममा असहज अवस्थामा परेकालाई आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

विभागले अनलाइन प्रणालीमार्फत विवरण पठाउन आग्रह गरेको छ । यूएई ट्रान्जिटमा रोकिएका यात्रुलाई अनलाइन पोर्टल तथा क्यूआर कोडमार्फत विवरण उपलब्ध गराउन भनिएको छ । परराष्ट्र मन्त्रालयले इरानइजरायलअमेरिकाबीचको युद्धका कारण समस्यामा परेका नेपालीको उद्धार तथा सहयोगका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव रामजी खड्काका अनुसार हाल करिब २५० नेपाली ट्रान्जिटमा रोकिएका छन् । यो संख्या हजारसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

अबुधाबीकुवेतबाट प्राप्त जानकारीअनुसार झण्डै साढे दुई सय नेपाली ट्रान्जिटमा परेका हुन् । हाल उनीहरू सम्बन्धित एयरलायन्सकै जिम्मामा रहेको जनाउँदै खड्काले नेपाल फर्काउने वा गन्तव्यमा पठाउने दायित्व सम्बन्धित एयरलायन्सकै हुने बताए ।

उडान पुनः सञ्चालन नभएसम्म अस्थायी रूपमा खाना तथा बसोबासको व्यवस्था मिलाइएको र आकाश खुल्नेबित्तिकै प्राथमिकताका साथ उनीहरूलाई गन्तव्यमा पठाइने काम भइरहेको उनले जानकारी दिए ।