झापा, १ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको जनताले गरेको विश्वास कम हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अहिले सरकार र आफ्नो सम्पूर्ण ध्यान विगतका राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धी गुम्न नदिनेतर्फ केन्द्रीत भएको उहाँले बताउनुभयो ।
गृह जिल्ला झापाको बिर्तामोडमा प्रधानमन्त्री ओलीले आफैं आयोजना गर्नुभएको शुभकामना आदान प्रदान कार्यक्रममा जनताले गरेको विश्वासको सधैँ सम्मान गर्ने धारणा राख्नुभयो ।
ओलीले आफू प्रधानमन्त्री भएर आउँदा देशको ढुकुटी रित्तो अवस्थामा भएकाले आफ्नो ध्यान देशको अर्थतन्त्र बलियो बनाउनेमा केन्द्रीत गरेकोसमेत बताउनुभयो । सरकारी ढुकुटी रित्तो भएकाले नै जेष्ठ नागरिकहरूलाई भत्ता बढाउन नसकेको र आगामी वर्ष बढाउने प्रतिबद्धता समेत प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभयो ।
हरेक वर्ष दसैँको नवमीको दिन ओली आफैँले आयोजना गर्ने शुभकामना आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिंदै ओलीले दसैँको टीका लगाउने मन्त्र उच्चारण गर्दै यो मन्त्रले पुर्खाको दुरदर्शी सोच प्रष्ट हुने बताउनुभयो ।