नेपालीको सुरक्षा र उद्धारमा पहल गर्न मानव अधिकार आयोगको आग्रह

नेपालीको सुरक्षा र उद्धारमा पहल गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले इजरायल–अमेरिकी आक्रमणपछि मध्यपूर्वका मुलुकहरूमा विकसित अवस्थाबारे गम्भीर ध्यानाकर्षण गराउँदै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारमा विशेष पहल गर्न सरकारलाई आग्रह गरेको छ।

आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा युद्धका कारण नेपाली नागरिकहरूमा पर्न सक्ने असुविधा र जोखिमप्रति आयोगले गहिरो चासो र चिन्ता व्यक्त गरेको उल्लेख छ। आयोगले राज्य नागरिकको अभिभावक भएकाले विश्वका जुनसुकै मुलुकमा रहेका भए पनि आफ्ना नागरिकको सुरक्षा, संरक्षण तथा आवश्यकताअनुसार उद्धार गर्नु सरकारको दायित्वभित्र पर्ने विषय स्मरण गराएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस विषम परिस्थितिमा सरकारले युद्धग्रस्त तथा प्रभावित देशहरूमा रहेका आफ्ना नागरिकको सुरक्षा र संरक्षणका लागि तथ्याङ्क सङ्कलन गर्ने, पछिल्लो वस्तुस्थितिबारे जानकारी लिने र जोखिममा रहेका नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन तत्काल पहल गर्नुपर्दछ।’

आयोगले सरकारलाई विदेशस्थित कूटनीतिक नियोगहरूको प्रभावकारी परिचालन गर्न तथा सम्बन्धित देशका गैरआवासीय नेपाली संघ/संगठनहरूसँग समन्वय र सहकार्य गर्न समेत सुझाव दिएको छ।

साथै, जोखिमको मूल्याङ्कन गरी अतिप्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको उद्धार प्रक्रिया अगाडि बढाउन आयोगले नेपाल सरकार र विदेशस्थित नियोगहरूलाई आग्रह गरेको छ। आवश्यक समन्वय र सहयोगका लागि ती देशहरूमा रहेका गैरआवासीय नेपाली संघ/संगठनहरूलाई समेत आयोगले अनुरोध गरेको छ।