

काठमाडाैं । निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका अभियन्ता दुर्गा प्रसाईँलाई आइतबार बिहान भक्तपुरस्थित निवासबाट प्रहरीले पुनः पक्राउ गरेको छ।
पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ। परिसरका डीएसपी प्रकाश जगेबुले प्रसाईँ पक्राउ परेको पुष्टि गर्दै अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए। प्रहरीले पक्राउ गर्नुअघि ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धान’का लागि पक्राउ पुर्जी थमाएको जनाएको छ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’का अगुवा प्रसाईँले चुनाव बिथोल्ने अभिव्यक्ति दिँदै आएका थिए। राजावादी अभियन्ता प्रसाईँ यसअघि पनि पटकपटक पक्राउ र रिहा हुँदै आएका छन्।
पछिल्लो पटक उनी फागुन ४ गते पक्राउ परेका थिए र बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएपछि फागुन १३ गते रिहा भएका थिए।
विवादास्पद मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँसँग सरकारले पटक–पटक वार्ता गरे पनि उनले आफ्ना माग पूरा नभएको बताउँदै आएका छन्।