इजरायल र इरान यात्रा नगर्न सरकारको आग्रह

इजरायल र इरान यात्रा नगर्न सरकारको आग्रह

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानको अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकलाई ती देशको यात्रा नगर्न कडाइका साथ आह्वान गरेको छ।

शनिबार जारी गरिएको एडभाइजरीमा इजरायल वा इरान यात्रा गर्ने योजना बनाएका नेपाली नागरिकलाई परिस्थिति सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्न सुझाव दिइएको छ।

मन्त्रालयले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। साथै, हाल इजरायलइरानमा बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

एडभाइजरीमा दुवै देशका सम्बन्धित निकायले जारी गरेका सुरक्षा परामर्श तथा निर्देशनहरू कडाइका साथ पालना गर्न, सकेसम्म घरभित्रै बस्न, सतर्क रहन, आवश्यक सावधानी अपनाउन र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ।

मन्त्रालयले सम्बन्धित निकायको पूर्वअनुमतिबिना यात्रा नगर्न पनि स्पष्ट निर्देशन दिएको छ।