

काठमाडौँ । जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष हालसम्म १ हजार ७६ उजुरी परेका छन्। निर्वाचन आयोगका अनुसार प्राप्त उजुरीमध्ये १ हजार ६१ अर्थात् ९९ प्रतिशत फर्छ्यौट भइसकेका छन्।
प्रदेशगत रूपमा सबैभन्दा धेरै उजुरी लुम्बिनी प्रदेशमा २ सय ४४ परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी दर्ता भएका छन्। प्राप्त उजुरीमध्ये ९७ लिखित र ९ सय ७९ टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका हुन्।
आयोगका अनुसार सबैभन्दा धेरै उजुरी तोकिएको आकारभन्दा ठूला तुल, ब्यानर र झण्डा प्रयोगसम्बन्धी रहेका छन्। त्यस्तै, सामाजिक सञ्जालको दुरुपयोग, डिजे तथा माइक प्रयोग गरी ध्वनि प्रदूषण गरेको विषयमा पनि उजुरी परेको छ।
यसका साथै शिक्षक, कर्मचारी तथा स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा संलग्न भएको, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँगेको, अनुमति नलिएका सवारीसाधन प्रयोग गरेको लगायतका विषयमा पनि उजुरी दर्ता भएका छन्।