

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागू पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित र सुरक्षित ढंगले मनाउन सर्वसाधारणमा सार्वजनिक अपिल गरेको छ।
निर्वाचन आचारसंहिता र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस वर्षको होलीमा कडाइ गरिएको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक स्थानमा होहल्ला गर्ने, झैझगडा गर्ने तथा मादक पदार्थ सेवन गरी सार्वजनिक मर्यादामा खलल पुर्याउने गतिविधि नगर्न आग्रह गरिएको छ।
कसैको इच्छाविपरीत रंग दल्ने, लोला हान्ने, पानी छ्याप्ने वा जबरजस्ती गर्ने कार्यमा संलग्न पाइए कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।
यस वर्षको होली निर्वाचन अवधिसँग जोडिएको भन्दै आचारसंहिता पालनामा विशेष जोड दिइएको प्रशासनले स्पष्ट पारेको छ। कुनै पनि दल वा उम्मेदवारको निर्वाचन चिह्न वा तस्बिर अंकित टिसर्ट, टोपी, गम्छा, ब्याज, मास्क वा लकेट प्रयोग गर्न निषेध गरिएको छ।
प्रशासनले घरपरिवार र आफन्तजनसँग आफ्नै घरको कम्पाउण्डभित्र सीमित रूपमा पर्व मनाउन आग्रह गरेको छ। खुला सडक तथा सार्वजनिक स्थानमा भेला भई भिडभाड गर्ने, मेला–महोत्सव आयोजना गर्ने, मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्ने तथा मादक पदार्थको बिक्री–वितरण र सेवन गर्ने कार्यमा रोक लगाइएको जनाएको छ।