काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी नेतृत्वको सरकार बने सुशासनको नयाँ जग बसाल्ने बताएका छन्। गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पाँच वर्षको स्थायी सरकार दिन मतदातासँग आह्वान गरे।
उनले समानुपातिक र प्रत्यक्षतर्फ भोट बाँड्ने चर्चा सुनेको उल्लेख गर्दै भने, “भोट बाँडियो भने सिट बाँडिन्छ। सिट बाँडियो भने रास्वपाले बहुमत ल्याउँदैन। रास्वपाले बहुमत ल्याएन भने सबैभन्दा बढी खुसी यस देशका भ्रष्टाचारीहरू हुनेछन्। तिनलाई खुसी पार्ने होइन, तिनलाई घण्टी बजाउने हो।”
लामिछानेले वर्षौँदेखि मिलेर बसेका समुदायबीच धर्म, जात र सम्प्रदायका नाममा राजनीतिक रङ भर्ने प्रयासबाट सचेत रहन आग्रह गरे। “चुनाव आउँछ जान्छ, तर हाम्रो सद्भाव एक युगदेखिको हो। म धर्मका नाममा राजनीति गर्दिनँ। धर्मका नाममा राजनीति गर्नेलाई अन्त्य गर्नुपर्छ,” उनले भने।
उनले आगामी २१ गतेको मतदानलाई इतिहास लेख्ने दिनको रूपमा व्याख्या गर्दै गोरखा–१ बाट सुधन गुरुङ र गोरखा–२ बाट कविन्द्र बुर्लाकोटीलाई विजयी गराउन आग्रह गरे।
“सुधन गुरुङ सदन जाला भनेर भ्रष्टाचारीहरू अहिले नै डराएका छन्। तर यसपटक हामी उनलाई सदनमा पुर्याएरै छाड्छौँ,” उनले भने।